- काठमाडौं, ४ सेप्टेम्बर २०२६
काठमाडौंको कागेश्वरी मनोहरा–४, नयाँपाटीस्थित अल्पाइन एकेडेमी परिसरमा ‘अल्पाइन फुटसल ग्राउन्ड’को भव्य उद्घाटन गरिएको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय समुदायको उपस्थितिमा सम्पन्न उद्घाटन समारोहले विद्यालयको खेलकुद पूर्वाधारमा नयाँ अध्याय थपेको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनन्तराम ढकालले खेलकुद विद्यार्थीको शारीरिक विकाससँगै अनुशासन, नेतृत्व, सहकार्य र आत्मविश्वास विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै भन्नुभयो,
- “अल्पाइन फुटसल ग्राउन्ड केवल खेल्ने ठाउँ मात्र होइन, हाम्रा विद्यार्थीको प्रतिभा, अनुशासन र नेतृत्व विकास गर्ने एउटा महत्वपूर्ण मञ्च हो। विद्यालय समुदायका लागि यस्तो सुविधा निर्माण गर्न पाउँदा हामी गौरवान्वित छौँ।”
विद्यालयका प्रधानाध्यापक श्रीरामप्रसाद पोखरेलले आधुनिक शिक्षामा कक्षाकोठासँगै खेलमैदानको पनि उत्तिकै महत्व रहेको बताउनुभयो। उहाँले भन्नुभयो,
- “हामी विद्यार्थीलाई पढाइमा मात्र होइन, जीवनका हरेक क्षेत्रमा सक्षम बनाउन चाहन्छौँ। फुटसल ग्राउन्डले विद्यार्थीलाई सक्रिय, स्वस्थ र टोलीमा काम गर्न सक्ने बनाउनेछ।”
विद्यालयका संयोजक शिवमणि ढकालले नयाँ फुटसल ग्राउन्ड विद्यार्थी तथा विद्यालय समुदायको आवश्यकता र चाहनालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको बताउँदै भन्नुभयो,
- “विद्यार्थीको उत्साह र विद्यालय समुदायको मागलाई सम्बोधन गर्दै अल्पाइन फुटसल ग्राउन्ड सञ्चालनमा ल्याएका हौँ। अब विद्यार्थीहरूले विद्यालयमै सुरक्षित र व्यवस्थित वातावरणमा नियमित खेलकुद गतिविधि गर्न पाउनेछन्।”
विद्यार्थी र सर्वसाधारणका लागि खुला
अल्पाइन फुटसल ग्राउन्ड विद्यालयका विद्यार्थीहरूका साथै विद्यालय समुदायका सर्वसाधारणका लागि समेत खुला रहनेछ। यसले विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थी तथा स्थानीय खेलप्रेमीहरूलाई समेत खेलकुदमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
विद्यालयले फुटसलमार्फत विद्यार्थीमा स्वास्थ्य, अनुशासन, टीमवर्क, नेतृत्व क्षमता र खेलभावना विकास गर्ने लक्ष्य लिएको छ। साथै, स्थानीय स्तरमा फुटसल खेलको प्रवर्द्धन गर्दै नयाँ प्रतिभाहरूलाई अवसर दिने उद्देश्यसमेत विद्यालयको रहेको छ।